धादिङ – नेपाली कांग्रेस धादिङमा टिकट विवाद चरम अवस्थामा पुगेको छ । जिल्लामा कतै कुटाकुट भएको छ भने कतै खुकुरी हानाहान भएको छ । सोही क्रममा मंगलबार राति उम्मेदवार सिफारिसको विवादमा खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।
कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।
कांग्रेसका कार्यकर्ता राजु पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको पाख्रिन पक्षले तामाङमाथि आक्रमण गरी नाक फुटाइदिएका छन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीका अनुसार कर्यकर्ताले नाक फुटाइदिएका तामाङको अवस्था सामान्य रहेको छ ।
उनले घटनामा संलग्न भएको अभियोमा एक जना पक्राउ परेको पनि जानकारी दिए । घाइते गाउँपालिका अध्यक्षले भने पार्टीकै नेता पाख्रिनको समूहले आक्रमण गरेको आरोप लगाएका छन् ।
पाख्रिनले आफ्नो भान्जालाई टिकट दिन दबाब दिएको तर नमानेछि आक्रमण भएको उनले बताए । मंगलबार नै धादिङबेसीमै उम्मेदवार सिफारिसको विषयमा निलकण्ठ नगरपालिकामा पनि खुकुरी हानाहान भएको थियो ।
जिल्ला सभापति रामनाथ अधिकारी र निलकण्ठका मेयर भिम ढुंगाना पक्षबीच खुकुरी हानाहान भएको हो । सो क्रममा तीन जना घाइते भएका छन । सोक्रममा दिपक अधिकारी, धनबहादुर कार्की र नकुल वस्ती घाइते भएका छन् ।




प्रतिक्रिया