कांग्रेस डोटीको सभापतिमा सिंह निर्वाचित


काठमाण्डु – नेपाली कांग्रेस डोटीको जिल्ला सभापतिमा नेरेन्द्रबहादुर सिंह विजयी भएका छन् । बुधबार भएको मतदानमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जानकारी दिएको छ । उनका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरे ।

सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले पराजित गरेका हुन् । मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियो ।

सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए । कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement