देउवाले बोलाएको बैठकमा प्रचण्ड पुगे, जसपाका नेता बाटैमा छलफलमा जुटे

देउवाले बोलाएको बैठकमा प्रचण्ड पुगे, जसपाका नेता बाटैमा छलफलमा जुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अगाडि जनता समाजवादी पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सभापति देउवाले माअ‍ोवादी केन्द्र र जसपाका नेताहरुलाई नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

सभापति देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि जसपाका नेताहरुले साझा धारणा तय गर्न छुट्टै छलफलमा जुटेका छन् । उनीहरु बुढानिकण्ठमा रहेको एक होटलमा बसेको स्रोतले जानकारी दियो ।

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई साझा धारणा तय गर्न आन्तरिक छलफलमा जुटेका छन् ।

बैठकमा सहभागी हुनका लागि माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । माअ‍ोवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र कृष्णबहादुर महरा सहभागी छन् ।

गत हप्ता कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो । एक हप्तापछि सभापति देउवाले सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।

सरकार गठनका विषयमा माओवादी केन्द्र सहमत छ भने जसपाभित्र विवाद रहेको छ । जसपामा महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूह नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छ ।
ठाकुर पक्षले ओली सरकारसँग आफ्ना मागका विषयमा वार्ता प्रक्रिया अघि बढाएको छ ।