कांग्रेस अधिवेशन : काठमाण्डुको सभापतिमा नीलकाजी शाक्य विजयी

कांग्रेस अधिवेशन : काठमाण्डुको सभापतिमा नीलकाजी शाक्य विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डु महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाण्डु महानगरपालिकाको आज भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाण्डु महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् ।

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए ।

लामो समयपछि भएको काठमाण्डु महानगरपालिकाको निर्वाचनमा एक हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाण्डुको मतदान भएको थियो । काठमाण्डु महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।

यसअघि काठमाण्डुको सात निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । काठमाण्डुको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाण्डुका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ ।