काठमाण्डु – नयाँ नेतृत्व चयनका लागि सभापतितर्फको मतगणना मतदानस्थल मै हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार जारी मतदान सकिएलगत्तै कांग्रेस निर्वाचन समितिले सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा र पदाधिकारी र सदस्यहरुको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने जनाएको छ ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्ने तयारी भइरहेको काँग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले जानकारी दिए ।
उनका अनुसार साढे १० बजेसम्म मतदानको समय तोकिएको छ । त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्नेलगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ ।
रातभरमा भापतिको गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।
यसैबीच महाधिवेशन स्थलको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सभागृह र भृकुटीमण्डप आसपासमा प्रतिनिधि बाहेक अन्य काँग्रेस कार्यकर्तालाई त्यहाँबाट सुरक्षाकर्मीले हटाएका छन् । भोटिङ अधिकार नभएकाहरूलाई महाधिवेशन स्थलबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशील राठौरले जानकारी दिउ ।




प्रतिक्रिया