काठमाण्डु – नेपाली कांग्रेसले पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीरूलाई पार्टीसँग समन्वय गरेर मात्रै काम गर्न निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाएर मन्त्रीहरूलाई पार्टीसँग समन्वय गरेर मात्रै अघि बढ्न निर्देशन दिइएको हो ।
शनिबार साँझ ५ बजेदेखि सवा १० बजेसम्म सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्री गगन थापाले मन्त्रीसँग ब्रिफिङ लिएको देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा वन तथा वातावरण राज्यमन्त्री रूपा विक र उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङले पार्टी नेतृत्व र पदाधिकारीलाई ब्रिफिङ दिँदै कामकाज र झेल्नु परेका समस्याबारे जानकारी गराएका थिए ।
सभापति देउवासहित पदाधिकारीले मन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजनाबारे जानकारी माग्दै पार्टीसँग समन्वय गरेर मात्रै अगाडि बढ्न निर्देशन दिएका हुन् ।
कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमति अनुरुप ३१ असारमा कांग्रेसबाट १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए। त्यसपछि गरेका काम, काम गर्दा झेल्नु परेका समस्या र आगामी योजनाबारे पार्टी पदाधिकारीले ब्रिफिङ लिएका हुन् ।
मन्त्रीहरूले बधाई लिँदा सिंहदरबार र मन्त्री निवासमा समेत भिडभाड भएकाले यसअघि कामकाज सुरू गर्न भन्दै कांग्रेसका पदाधिकारीहरूले मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
तर, त्यसिपछि पनि मन्त्रीहरूको कार्यशैलीमा खासै फरक नआएको भन्दै आलोचना भएपछि १२ मन्त्रीलाई बोलाएर ब्रिफिङ लिएको हो । मन्त्रीहरूलाई कार्यशैली सुधार गर्दै काममा केन्द्रित हुन पनि उनीहरूले निर्देशन दिएका छन् ।
सरकारमा पठाएका मन्त्रीहरूले काम गर्न नसक्ने हो भने संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले झन् जनतामा निराशा ल्याउन सक्नेतर्फ देउवाले मन्त्रीहरूलाई सचेत गराएका थिए ।
मन्त्रीहरूसँग साउन २३ गतेदेखि २८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यहरूले पार्टीसँग समन्वय नगरेर काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
पार्टी पदाधिकारीहरूले मन्त्रीहरूलाई पार्टीले समन्वय गरिदिनुपर्ने विषयहरू भएमा जानकारी गराए समन्वय गरिदिने बताएका थिए ।




प्रतिक्रिया