काठमाण्डु – बुधबारबाट जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहिबार सभापति शेरबहादुर देउवा नेताहरूको तारोमा परेका छन् । मुख्यगरी प्रदेश सभापतिहरूले देउवाले प्रदेशलाई अधिकार नदिएको भन्दै आलोचना गरेका हुन् ।
कांग्रेसका सात प्रदेशका सभापतिहरूले केन्द्रले प्रदेशलाई बेवास्ता गरेको गुनासो पनि बैठकमा गरे । बिहीबार आमन्त्रित सदस्यका रुपमा सात प्रदेशका सभापतिलाई बोल्न दिइएकोमा सबैको तारोमा सभापति देउवा परेका हुन् ।
प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्ण यादव(मधेस), इन्द्र बानियाँ(बागमती), शुक्रराज शर्मा(गण्डकी), अमरसिंह पुन(लुम्बिनी), ललितजंग शाही(कर्णाली) र बीरबहादुर बलायर(सुदूरपश्चिम)ले संघीयता अनुसार प्रदेश कार्यसमितिको भावना पार्टी र नेतृत्वले बुझ्न नसकेको गुनासो गरेका हुन् ।
पार्टी संरचनामा प्रदेश समितिलाई भूमिकाविहीन बनाइएको भन्दै १५ भदौदेखि प्रस्तावित १०० दिने सांगठनिक अभियानको प्रदेश संयोजन गर्न पनि सहमहामन्त्रीहरूलाई दिने भए आफूहरूको भूमिका कहाँ हुने भनेर प्रश्न सोधे । प्रदेशमा मन्त्री बनाउँदा सम्बन्धित समितिलाई बेवास्ता गरेर केन्द्रबाट निर्णय गरेर पठाइएको आरोप उनीहरूको थियो ।
‘संघ नीति बनाउने, प्रदेश विकास गर्ने, स्थानीय तह कार्यान्वयन गर्ने संरचना भए पनि कांग्रेस नेतृत्वले यो बुझ्न नसकेको बागमती प्रदेश सभापति बानियाँले बताए।
प्रदेश समितिलाई बोधार्थ कार्यालयका रुपमा मात्रै पार्टीले प्रयोग गरेको आरोप पनि प्रदेश सभापतिहरूको छ ।
केन्द्रीय सदस्य राजेन्द्र कँडेलले पनि प्रदेशलाई अधिकार नदिइएको बताए ।




प्रतिक्रिया