बर्दघाटमा आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

बर्दघाटमा आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुईरदुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।

कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उमेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उमेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुंगो लाग्न सकेको थिएन ।

मतदानमा क्षेत्रीय सभापतिका उमेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । मत बराबर भएपछि गोलाप्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुंगोमा पुग्न सकेको थिएन । दुवै पक्षबीचको छलफलपछि दुई÷दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको जिसीले जानकारी दिए ।

यसैबीच, नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ । सहमति नभएका पदमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिए । यसअघि, जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भएका छन् ।

त्यस्तै, नवलपुर क्षेत्र नम्बर–१ को महासमिति सदस्य खुलातर्फ पाँचजना निर्विरोध चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, मदनभक्त अधिकारी, गणेश सापकोटा र गोकुल सापकोटा रहेकाछन् । त्यस्तै, खसआर्यतर्फ भरत तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । अन्य पदका लागि मतदान हुँदै छ । कुल एक हजार ९७२ मतदाताले मतदान गर्नेछन् ।