काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमनत्री केपी शमाृ अोलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । सरकारले गत मंगलबार रातीबाट खोलेको लकडाउन प्रभावकारी नभएको भन्दै देउवाले प्रधानमन्त्रीलाई भेटेर ध्यानआकर्षण गराएका थिए ।
उनले प्रधानमन्त्रीले लकडाउनपछिका चुनौतीलाई सामना गर्न विशेष रणनीति बनाउनु पर्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् ।
देउवाले प्रधानमन्त्रीलाई लकडाउन खुले पनि क्वारेन्टाइन मापदण्डयुक्त नभएको र पिसिआर टेस्ट पर्याप्त मात्रामा नभएको भन्दै जिम्मेवार बन्न ध्यानाकर्षण गराएका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरि भेटमा लकडाउनपछि उत्पन्न भएको नयाँ परिस्थिति सामना गर्नका लागि सरकारले नयाँ रणनीति ल्याउनु पर्ने सुझाव दिएको जनाएका हुन् ।
‘लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि सभापतिले नेपाली कांग्रेसका तर्फबाट आग्रह र माग गर्नुभएको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले परीक्षण पीसिआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै, क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।’
देउवाले कोरोनाबाट सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार विहीन भएको हुंदा सरकारलाई उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा काम गर्न पनि देउवाले ध्यानाकर्षण गराएका छन् ।




प्रतिक्रिया