काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले पार्टीको आगामी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
‘हामी महाधिवेशनको क्रममा छौँ, पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक सही ढङ्गले प्रयोग गर्नुस्, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस्, त्यसो हुँदा पार्टी बलियो हुन्छ’, नेता सिटौलाले भने । पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिटौलाले न्यायालयभित्रको झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने भन्दै चिन्ता व्यक्त गरे ।
‘कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान गरेको छ, आवश्यक परे न्यायालयको झगडामा पनि समाधान दिन सक्छ’, उनले भने । संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको भए पनि अघिल्लो सरकारले संविधानले दिएका विषय अगाल्न नसक्दा सरकार परिवर्तन भएको उनको भनाई थियो ।
कांग्रेस नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको बताए । उनले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए ।
कांग्रेस तारकेश्वरका सभापति कृष्णहरि महर्जनले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य नभएसम्म कांग्रेस बलियो हुन नसक्ने ठोकुवा गरे । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकालाई स्वागत गरिएको थियो ।




प्रतिक्रिया