रामचन्द्र पौडेलको प्रश्नः जनता केवल भोट मात्रै हालिराख्ने मेसिन हुन् ?

रामचन्द्र पौडेलको प्रश्नः जनता केवल भोट मात्रै हालिराख्ने मेसिन हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने बताएका हुन् ।

‘जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ’, नेता पौडेलले प्रश्न गर्दै भने, ‘केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?’

उनले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताए । वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए ।

वरिष्ठ नेता पौडेलले शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए ।

नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, ‘कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।’