काठमाण्डु – नेपाली कांग्रेसको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ । भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरुबीच सहमति जुटेको कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भएको छलफलमा क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूले राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेपछि तोकिएकै समयमा महाधिवेसन हुने भएको हो ।
सभापति देउवासंग भएको छलफलका विषयमा नेता पौडेलले आफुपक्षीय नेताहरुसंग व्रिफिङ गरेका थिए । आज बिहान कांग्रेस पूर्ब महामन्त्री सिंहको निवास चाक्सिबारिमा भएको छलफलमा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बताए ।
जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने गरी सहमति जुटेको सिहले जानकारी दिए ।




प्रतिक्रिया