काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई सुधार गर्न खोज्दा नेतृत्वको विरोध गरेको भन्दै प्रचार गरिएको गुनासो गरेका छन् ।
काठमाडौंको ठमेलस्थित आफ्नै निवासमा सोमबार कांग्रेस जिल्ला समन्वय समितिसँगको छलफलका क्रममाः कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ ।
संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनले बताए ।
संघीय संरचनाअनुसार पार्टी संरचना बनाउन नसक्दा धेरै साथीहरुलाई जिम्मेवारी दिन नसकिएको पनि उनले बताए ।
मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए । मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद भएको उनले बताए ।




प्रतिक्रिया