काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार नयाँ मिति सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते काठमाण्डुमा हुनेछ ।
यसअघि बुधबार बसेको निर्वाचन समितिको बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाण्डुमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो ।
यसअघि क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसकेपछि महाधिवेशन मंसिर ९ देखि १३ सम्म सारिएको थियो । उक्त मितिमा पनि महाधिवेशन हुन नसकेपछि काँग्रेसले मंसिर २४ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो । योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका ८औं पटक संशोधन भएको छ ।





प्रतिक्रिया