काठमाण्डु – नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने संस्थापन इतर पक्षको प्रयासले आज पनि सफलता पाउन सकेन ।
आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयासमा संस्थापन इतर पक्ष केही दिनदेखि लागिपरेपनि नेताहरुले आ–आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो ।
मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न सकेन ।सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी रहेका छन् । सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले हिजै बताएका थिए । तर नेताहरु सहमतिमा नआएपछि थप समस्या देखिएको छ ।
चार नेताहरुका बीचमा आज सहमति नभएकाले भोलि फेरि अरु नेताहरु बसेर छलफल गरेपछि निकास निकालिने सहमति भएको नेता गुरु घिमिरेले जानकारी दिए । उनका अनुसार भोलि बिहान ८ बजे बानेश्वरमा बसेर सुझाव लिएर निकास निकाल्ने सहमति भएको छ ।
‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला,’ उनले भने । नेता घिमिरेका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो ।




प्रतिक्रिया