काठमाडौं – नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर भएपनि बजेट बरालिएर आएको बताइन् ।
तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले मुलुकको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ वर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको उनले स्मरण गरिन् । ‘आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु ।
अर्थमन्त्रीज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफू जस्तै नेपाली जनतालाई कहिले बनाउने ?’, उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्, ‘यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।’ भुसालले संघीयता विरोधी बजेट आएको भन्दै संशोधनको माग गरिन् ।
पूँजीगत खर्च देखेर निराश हुनुपरेको भन्दै उनले कार्यकर्ता, नेता खुसी पार्न बजेट दुरुपयोग हुन सक्ने आशंका गरिन् । विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरि प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन् ।
उनले बजेट संघीयता विरोधी भएको, बजेटले प्रदेशको उन्नति र सम्मृद्धि भन्दा सिंहदरबारको सम्मृद्धि र केन्द्रको सम्मृद्धि तर्फ आँखा लगाएको टिप्पणी गरिन् ।




प्रतिक्रिया