काठमाण्डु – नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६७४३ वडालाई मतदातासँग सम्पर्क बढाउन परिपत्र गरेको हो ।
केन्द्रीय कार्यालयद्धारा जारी सर्कुलरमा टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न भनिएको छ । कांग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व गराउनसमेत निर्देशन गरेको छ ।
त्यस्तै वडा कार्यसमितिलाई निर्वाचन केन्द्रित रणनीति तर्जुमा गर्न सहज हुने गरी आफ्नो टोलका पार्टी सदस्यहरू, मतदाताको विवरण र नयाँ मतदाताको विवरण तयार गर्न तथा घरदैलोमा पुगेर गुनासा र समस्याहरू सुन्न समेत निर्देशन दिएको छ ।
‘टोल कार्यसमितिका सदस्यलाई निश्चित घर (१० वटा घर) या मतदाता संख्या (५० मतदाता) बाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने, दुःखसुखमा सामेल हुने लगायतको जिम्मेवारी दिने,’ जारी सर्कुलरमा भनिएको छ ।




प्रतिक्रिया