काठमाण्डु – नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाण्डुमा जारी छ । शुक्रबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज मतदान भइरहेको छ ।
संविधानले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था गरेको छ । तर, पदाधिकारीमा भने बाध्यकारी अवस्था छैन । १३ पदाधिकारीका लागि ३७ जनाको उम्मेदवारी परेको छ । जसमा सुजाता कोइरालासहित ५ जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् ।
त्यसमा पनि खुलातर्फ उपसभापतिमा २, सहमहामन्त्रीमा महिला कोटामा २ र दलित कोटामा १ जना महिलाको उम्मेदवारी परेको छ । केन्द्रीय कार्यसमितिमा मात्र होइन, पदाधिकारीमा पनि प्रतिनिधित्व खोजे पनि महिलाहरु प्रतिस्पर्धामा भने आउन हिचकिचाएका छन् ।
उपसभापतिका लागि ७ जनाको उम्मेदवारी रहँदा प्रकाशमान सिंहको प्यानलबाट सुजाता र विमलेन्द्र निधिको प्यानलबाट दिव्यश्वरी शाह मात्रै चुनावी प्रतिस्पर्धामा छन् ।
विधानअनुसार आठ क्लस्टरबाट आउने सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएकामा तीनजना मात्रै महिला छन । देउवा प्यानलबाट डिना उपाध्याय, शेखर प्यानलबाट कमला पन्त र स्वतन्त्र रूपमा गंगा सुनारले दलित कोटाको सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन ।
पदाधिकारीका लागि चुनावी मैदानमा उत्रेका महिलामध्ये कसैको बलियो पारिवारिक विरासत छ भने कोही संघर्षकै बलमा केन्द्रीय राजनीतिमा आएका छन । कांग्रेसले महाधिवेशनका लागि ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा बनाएको छ । तर, १४ औं महाधिवेशनको चुनावी गठजोडले पदाधिकारीमा एक जना महिला सहमहामन्त्रीबाहेक अरू आउने बाटो जटिल छ ।




प्रतिक्रिया