काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ ।
बुधबार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ।
देउवा पक्षीय नेताहरुको छलफलबाट पौडेललाई विश्वासमा लिएर महाधिवेशन सार्ने रणनीति तय भएको छ । पौडेल भड्किएमा विशेष महाधिवेशन आह्वान हुनेदेखि पार्टी नेतृत्त्व बदनाम हुने र त्यसको असर सरकार संचालनमा पनि पर्नसक्ने भन्दै सचेत भएर पौडेलाई विश्वासमा राख्न देउवा पक्षका नेताहरुले सभापति देउवालाई सुझाव दिएका थिए ।
सभापति देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। त्यसपछि कसरी पार्टीको म्याद थप गर्ने भन्नेबारे भने कांग्रेसले बताइसकेको छैन। यसअघि वरिष्ठ नेता पौडेलले भदौ २३ पछि यो केन्द्रीय समिति नरहने बताएका थिए।
क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन्। तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन।
कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाण्डुमा भएको थियो । पार्टी विधानको सुविधाअनुसार कांग्रेसले एक वर्ष म्याद गर्नुका साथै सो म्याद पनि गत फागुन २० गते समाप्त भएपछि संविधानको प्रावधानअनुसार छ महिना अवधि थप गरेको थियो । विभिन्न कारण देखाउँदै पटक पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसका लागि अब महाधिवेशनको नयाँ मिति कसरी कुन विधिअनुसार तोक्ने भन्ने सम्बन्धमा ठूलो चुनौती छ ।




प्रतिक्रिया