यी हुन् कांग्रेसबाट भावी प्रधानमन्त्रीको दौडमा रहेका नेता, आकांक्षी बढ्दै जाँदा पार्टीमा छैन छलफल

यी हुन् कांग्रेसबाट भावी प्रधानमन्त्रीको दौडमा रहेका नेता, आकांक्षी बढ्दै जाँदा पार्टीमा छैन छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसका केन्द्रिय नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।  मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन पछि कांग्रेसका  नेताहरूले  भावी प्रधानमन्त्रीमा आफ्नो दावी रहने इच्छा देखाएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दौडमा देखिएका छन्। गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले चुनावपछि आफू प्रधानमन्त्री हुने बताएका थिए ।

मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको उनको भनाइ थियो ।  ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’ पौडेलले भनेका थिए, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ ।’

त्यसैगरी भावी प्रधानमन्त्रीको दौडमा रहने नेताहरुमा कांग्रेस महामन्त्री गगन थापा, प्रकाशमान सिंह पनि पर्दछन् ।  महामन्त्री थापाले संघीय निर्वाचन पछि आफूले प्रधानमन्त्रीमा दावी गर्ने बताइ सकेका छन् ।  थापालाई प्रधानमन्त्री बनाउन कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ ।  शर्माले यदि गगन थापाले प्रधानमन्त्रीमा दावी गरे आफूले सहयोग गर्ने बताएका छन् । अब देशको नेतृत्व युवाले सम्हाल्नु पर्ने शर्माको भनाइ छ ।

यस्तै नता सिंहले पनि प्रधानमन्त्रीमा इच्छा देखाइरहँदा निर्वाचन जिते प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई समेत प्रधानमन्त्री बनाउने चर्चा चलेको छ । वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि फेरी प्रधानमन्त्रीमा दोहोरिने मुडमा छन् । उनले आफू प्रधानमन्त्री बन्नकै लागि हालको पाँच दलीय गठबन्धन टिकाइरहेका छन् ।  प्रधानमन्त्रीका आकाङ्क्षीको संख्या बढ्दै जाँदा समेत भावी प्रधानमन्त्रीका विषयमा कांग्रेसभित्र हालसम्म भने छलफल भएको छैन् ।

कांग्रेसभित्र संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत कति सिटमा दावी गर्नेबारे बारम्बार छलफल भइरहेपनि आगामी प्रधानमन्त्रीका विषयमा भने छलफल भएको छैन् ।  नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले भावी प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टीभित्र छलफल नभएको बताएका छन् ।

‘आगामी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा पार्टीभित्र औपचारिक वा अनौपचारिक कुनैपनि रुपमा छलफल भएको छैन । उनीहरूले दावी गरेको व्यक्तिगत कुरा हो, पार्टीमा समेत उहाँहरूले त्यस्तो खालको दावी वा इच्छा देखाएका छैनन्,’, उनले भने ।