कांग्रेस प्रदेश २ सभापतिमा देउवा र निधि प्यानलबाट क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)

कांग्रेस प्रदेश २ सभापतिमा देउवा र निधि प्यानलबाट क–कसले दिए उम्मेदवारी ? (सूचीसहित)


जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा छुट्टाटुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराका हुन् ।

उनी दुवै जना जनकपुरको गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रूपमा रञ्जित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे पनि उनले उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

मन्त्री यादवले आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताएका छन् । उनकाे प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही)लाई राखिएको छ ।

सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ ।

देउवा पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र नेता उपेन्द्र यादवले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू सहित ७२ जना प्रदेश कार्य समिति चयन हुने छ । मनोनयन दर्ता अझै जारी नै रहेकोले उम्मेदवारहरूको अन्तिम नामावली राती १० बजे प्रकाशन गरिने प्रदेश निर्वाचन समिति सदस्य अरुणकुमार यादवले बताए ।