कांग्रेसको कठघरामा सरकार : खुलेआम आलोचनाको शिकार

कांग्रेसको कठघरामा सरकार : खुलेआम आलोचनाको शिकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सरकारको खुलेआम आलोचना भएको छ ।

कांग्रेस नेता डा.शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायत नेताहरूले सार्वजनिक कार्यक्रममा सरकारको आलोचना गर्ने गरेपनि अब आलोचना बैठकसम्मै पुगेको छ ।

कांग्रेस उपसभापति तथा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारवाहीबारे जवाफ दिएपनि केन्द्रीय सदस्यहरू सन्तुष्ट हुन सकेका छैनन् । बैठकमा केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले सरकारमा कांग्रेसका मन्त्रीहरूले समेत राम्रो डेलिभरी दिन नसकेको आरोप लगाएकी छन् ।

‘सरकारले नागरिकको अपेक्षाअनुरूप काम गर्न सकेको छैन । कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि डेलिभरी दिन सक्नुभएको छैन, यस्तो किन भइरहेको छ ?’ उनले भनिन्, ‘यसबारे पार्टीले बेलैमा सजग हुनु आवश्यक छ ।’

सांसद गौतमले चाडवाड नजिकिएका बेला महंगीले आकाश छुने स्थिति हुँदा पनि सरकार चुप लागेर बसेको गुनासो गरिन् । ‘चाडवाड नजिकिएको छ तर महंगीले आकाश छोएको छ । जनता महंगीले पिल्सिएका छन् । सर्वसाधारणको मात्रै होइन, तपाईं हामीहरूको पनि भान्सा महंगिएको छ तर सरकारले बजार अनुगमन र नियमन गर्न सकेको छैन । भएका अनुगमन पनि औपचारिकतामा मात्रै सीमित छन् । महंगी नियन्त्रणमा सरकार किन चुप छ ? यस्तो विषयमा पार्टीको धारणा के हो ?’ उनले भनिन् ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिनमा अग्रसरता लिएपनि माओवादी पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाए । माओवादीले सुन प्रकरणमा जोडिएका महरालाई छानबिन नगरेको गुनासो गरे ।

‘शरणार्थी प्रकरणमा सरकार र गृह मन्त्रालयले जुन तदारुकता देखायो । आफ्नो दलका नेताहरू सहभागी भएको देखिएपछि माओवादीले अनेक बहानामा कृष्णबहादुर महरामाथि छानबिन गरेन,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का अभिव्यक्तिको समेत कांग्रेस बैठकमा आलोचना भएको छ । केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘प्रधानमन्त्रीले जातीय कुरा उठाइराख्नुभएको छ । उहाँले भनिराख्नुभएको छ, हामीलाई समर्थन गर्नुस्, जातीय राज्य राख्दिन्छु भनेर । यसले नराम्रो म्यासेज गएको छ । यो प्रचण्डजीको मात्रै सरकार होइन । यहाँ सबैभन्दा ठूलो दल कांग्रेस हो । त्यसैले गल्ती उहाँहरूले गर्ने, त्यसको अपजस हामीले पाउने भइरहेको छ ।’

वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै नेता कोइराला पक्षले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने वकालत गर्दै आएको छ ।