अख्तियारमाथि दबाब दिएको आरोपबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ

अख्तियारमाथि दबाब दिएको आरोपबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दबाब दिइएको भन्ने सार्वजनिक आरोपबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई स्पष्ट जानकारी गराउन माग गरेको छ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरूङले पत्रकार सीताराम बरालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दाबीलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

‘अत्यन्त गम्भीर विषय छ, पत्रकार सीताराम बरालले प्रधानमन्त्री कार्यालय अघिबाट लाइभमा भन्नुभएको छ,’ केरूङले भने, ‘नागरिक सर्वोच्चता भएको यो मुलुकमा लोकतन्त्र र सुशासनको नारा दिएर स्थापित भएको सरकारको कार्यशैलीप्रति लज्जाजनक विषयवस्तु बाहिर आएको छ।’

अख्तियारका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा राखेर राहदानी विभागका महानिर्देशकविरुद्ध पक्राउ पुर्जी जारी गर्न दबाब दिइएको भन्ने आरोपबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको माग छ।

‘संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर त्यहाँबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाउने र नभए थुन्ने धम्कीसहित पक्राउ पुर्जी जारी भएको बाहिर आएको छ,’ उनले भने, ‘यो विषय के हो, सत्यतथ्य आउनुपर्छ। प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ। संसदीय छानबिन समिति पनि गठन गर्नुपर्छ।’

हालै अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर बयान लिएको थियो।

केरूङले संवैधानिक निकायहरू आफ्नै अधिकारभित्र स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने धारणा पनि राखेका थिए।