काठमाण्डु- नेपाली कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने पार्टीको निर्णय विरुद्ध आवाज उठिरहेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेसँगै कांग्रेस नेताहरुले चुनावी गठबन्धनको विरुद्ध आवाज उठाएका हुन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, गगन थापा, धनराज गुरुङ लगायतका नेताहरुले चुनावी गठबन्धनको खुलेरै विरोध गरिरहेका छन् ।
सत्तारुढ दलका प्रमुख नेताहरुको बुधबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनावमा आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको थियो । गठबन्धन दलहरुले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने भने पनि स्थानीय तहमा मेयर उपमेयरमा उम्मेदवार कुन पार्टीकोलाई बनाउने निर्णय भने केन्द्रबाटै गर्ने भएका छन् ।
नेपाली कांग्रेसका स्थानीय तहका नेताहरु उक्त निर्णयप्रति असन्तुष्ट बनेका छन् । चितवनको भरतपुर महानगरपालिकाका भित्रका वडा सभापतिहरूले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले पाउनु पर्ने माग राख्दै आइरहेका थिए । उनीहरूले यदि कांग्रेसले भरतपुर महानगरपालिका नपाए विर्दोह गर्ने समेत निर्णय गरेका थिए ।
तर,गठबन्धन दलहरुले भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ । गठबन्धनको निर्णय अनुसार अहिलेकी मेयर रेनु दाहाल पुनः उम्मेदवार बन्ने भएकी छिन् । अब भरतपुरको मेयर कांग्रेसले नपाउने निश्चित भएको छ । तर, कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले भरतपुर महानगरपालिकामा कांग्रेसले उम्मेदवार नपाउने अवस्था हो भने गठबन्धनमा नरहने परिस्थिति निर्माण हुनसक्ने चेतावनी दिकएका छन् । गठबन्धनले गरेको निर्णयपछि चितवन कांग्रेस आन्तरिक छलफलमा रहेको र पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर निष्कर्षमा पुगिने उनको दावी छ ।
त्यसैगरी यता नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको छ । ‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नगरि नै कांग्रेस एक्लैले स्थानीय तहको निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने, ‘कांग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छ भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी कांग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौं।’
केन्द्रदेखि स्थानीय तहसम्मका असन्तुष्टि व्यवस्थापन गर्न देउवालाई सकस
स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने प्रधानमन्त्री देउवाको निर्णयले केन्द्रमा पनि उत्तिकै असन्तुष्टि बनेको छ । सुरुदेखि नै कुनै पनि चुनावमा नेपाली कांग्रेसले एक्लै भिड्नु पर्ने बताउँदै आइरहेको संस्थापन इतर पक्ष पछिल्लो समय रुष्ट बनेको हो ।
नेपाली नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावमा गठबन्धन सहित जाने निर्णय कांग्रेसका लागि उपयुक्त नभएको बताएका छन् । नेता कोइरालाले कम्युनिष्टहरुले रुखमा भोट नहाल्ने भएकाले पनि चुनावमा एक्लै जानुपर्ने दावी गरे ।
बिहीबार मात्रै नेपाली कांग्रेस काठमाण्डु महानगरपालिका वडा नं ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमती जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् ।
महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको दावी गरे । गठबन्धनका दलह?का बिचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै उनले दलहरुका बिचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताएका हुन् । स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले प्रष्ट पारेका छन् । महामन्त्री थापाले व्यक्तिगत रूपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको बताए ।
‘यो गठबन्धन, तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन । चुनाव अगाडी गर्ने तालमेल भन्ने मत मेरो आफ्नो मत हो। मत राखेँ। तर पार्टीको बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भन्ने निर्णय गरिसकेपछाडी पार्टीको त्यो निर्णयलाई मानेको छु। मान्नुपर्छ,’ उनले भने ।
महाममन्त्री थापाका अनुसार प्रधानमन्त्री देउवाले उम्मेदवार छनोट गर्न कांग्रेस स्थानीय तहका नेताहरुको निर्णय विपरीत गरिरहेका छन् । त्यसले गर्दा कांग्रेस स्थानीय तहका नेताहरु झनै रुष्ट बनेका हुन् । कांग्रेस स्थानीय तहका नेताहरुले यदि आफूहरूको निर्णय विपरित अरु पार्टीकोलाई उम्मेदवार छनौट गरे विद्रोह गर्ने समेत चेतावनी दिएका छन् ।
पछिल्लो समय चुनावी गठबन्धनले गर्दा नेपाली कांग्रेस कम्युनिष्टहरूसँग मिल्नु नै खतराको घण्टी भएको टिप्पणी समेत भइरहेको छ । यसले गर्दा प्रधानमन्त्री देउवालाई केन्द्रदेखि स्थानीय तहसम्मका असन्तुष्टि व्यवस्थापन गर्न थप चुनौती थपिएको छ । यता, प्रधानमन्त्री देउवाले भने तिनै तहको चुनावमा नेपाली कांग्रेस गठबन्धनसहित जाने दावी गर्दै आइरहेका छन् ।




प्रतिक्रिया