प्रदेश १ : सभामुखले बोलाए सर्वदलीय बैठक, बैठक रोक्ने तयारी

प्रदेश १ : सभामुखले बोलाए सर्वदलीय बैठक, बैठक रोक्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न लिखित रुपमा माग गरेपछि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन् ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ ।  नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ भने एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भन्दै बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गर्न माग गरेको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसले आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो । त्यस्तै एमालेले पनि बैठक पर सार्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।

एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

एमाले र काँग्रेसको आन्तरिक किचलो र सत्तास्वार्थका कारण आज मध्यान्ह साढे १२ बजेका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित हुने देखिएको छ ।