बीआरआईबारे कांग्रेसको निर्णय र नेताहरूको अभिव्यक्तिले एमाले सशंकित

बीआरआईबारे कांग्रेसको निर्णय र नेताहरूको अभिव्यक्तिले एमाले सशंकित

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेपछि सत्ता साझेदार दलहरूका नेताहरूका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले गरेको निर्णय र नेताहरूले दिएको अभिव्यक्तिका कारण सत्ताको नेतृत्वकर्ता नेकपा एमाले सशंकित बनेको छ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन बैठक बसेर २४ मंसिरमा बीआरआईबाट ऋण नलिने निर्णय गरेको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए । सर्तसहितको ऋण लिन नसक्ने निर्णय पार्टीको रहेको उनको भनाइ थियो ।

त्यसअघि कांग्रेस सभापति शेरबहादु देउवाले २२ मंसिरमा बीआरआईबाट ऋण नलिने अभिव्यक्ति दिएका थिए । प्रवक्ता महतले बीआरआई कोअरपरेसन फ्रेमवर्क सम्झौतामा उल्लेख भएको ‘फाइनान्सिङ एड’ भनेर चीनले ऋण भिराउन खोजेको अर्थमा पनि व्याख्या गरेपछि एमाले नेताहरू सशंकित भएका हुन् ।

बिआरआईंबारे कांग्रेसको निर्णय र नेताहरूको अभिव्यक्तिहरूले पछिल्ला दिनमा कांग्रेस र एमाले सम्बन्धमा कतै चिसोपना आउन त लागेको होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

एमालेका एक पदाधिकारी तहका नेता भन्छन्, ‘कांग्रेससँगको सहमतिमा प्रधानमन्त्रीज्यूले चीनमा गएर सम्झौता गर्नुभएको हो । सम्झौता गर्दा परराष्ट्रमन्त्री कांग्रेस नेतृ डा. आरजु राणा देउवा पनि संगै हुनुहुन्थ्यो । त्यसमाथि प्रधानमन्त्रीसँग कांग्रेसका सांसदहरू पनि चीन भ्रमणमा गएका थिए । अहिले साक्षी बसेर भएको सम्झौतामा पार्टीको संस्थागत र नेताहरूबाट विरोध भइरहेको छ, के भएको हो बुझ्न सकिएको छैन ।’

यही विषयले कांग्रेस–एमाले सम्बन्धमा दरार आउने सम्भावना कति छ भन्ने प्रश्नमा ती एमालेका पदाधिकारीले अहिले नै त्यस्तो अवस्था आउने सम्भावना आफूले नदेखेको बताए । अब शीर्ष तहकै औपचारिक अनौपचारिक छलफलबाट टुंग्याउने प्रयास हुने उनको भनाइ थियो ।

यता कांग्रेस नेता विमलेन्द्र निधिले जनकपुरधाममा महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधि’को लोकार्पण समारोहमा अहिलेको सरकारले गरेको काम, कारबाही सन्तोषजनक नभएको बताएर असन्तुष्टि व्यक्त गरे । ‘मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन,’ निधिले भने।

परराष्ट्रमन्त्री राणा भने बीआरआईबाट ऋण लिन नसकिने र त्यस्तो सम्झौता नभएको अभिव्यक्ति दिइरहेकी छन् । कांग्रेस महामन्त्री गगन थापाले बीआरआईबाट ऋण लिएर देशलाई ऋणको पासोमा पर्न दिन नहुने बताइरेका छन् ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपालमा हुँदा सहमति भएविपरीत अनुदानको सट्टा ‘फाइनान्सिङ एड’ शब्द राखेपछि त्यसबारे कांग्रेस नेताहरूले विरोध गरिरहेका छन् । यद्धपी उक्त शब्द राख्नलाई परराष्ट्रमन्त्री राणाको उपस्थिति र संलग्नतामा भएको छलफलबाट सहमति जुटेको थियो । तर, अहिले त्यही शब्दलाई लिएर विरोध गरेपछि कतै सम्बन्धमा दरार ल्याउन चालिएको रणनीति त होइन भनेर एमाले सशंकित बनिरहेको छ ।