काठमाण्डु – पछिल्लो समय मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धन दलमा सिट बाँडफाट पेचिलो बन्दै गएको छ ।
पाँच दलमा आवद्ध दलहरु आआफ्नो दावी छोड्न तयार नहुँदा गठबन्धन फुट्ने संकेत देखिएको छ । सिट भागबन्डाले गठबन्धन फुट्ने मात्र होइन प्रमुख सत्ता घटक दल नेपाली कांग्रेसभित्र त विद्रोह नै हुने प्रवल सम्भावना देखिँदै गएको छ ।
कांग्रेसभित्र संस्थापन र इतर समूहका शीर्ष नेताले आआफ्नै दावी नछोड्दा सिट भागबण्डा हुन सकिरहेको छैन ।प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिट कांग्रेसले लिएर गठबन्धन गर्न निर्देशन नै दिइसकेका छन् ।
तर, संस्थापनइतर समूह भने १०० सिटमुनि गठबन्धन गरे पार्टीभित्रको व्यवस्थापन नै सम्भव नहुने पक्षमा छ । गठबन्धनसँग तालमेल गरेर २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने संस्थापनइतर डा. शेखर कोइराला पक्षको अडान छ ।
त्यसैले कोइराला समूहले सय सिट भन्दा कम कांग्रेसले लिए पार्टीभित्र विद्रोह हुने चेतावनी नेतृत्वलाई दिइरहेको छ । उनले भने, ‘कांग्रेसले १०० सीट पाउनु पर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन । हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो । यदि कांग्रेसले २०७४ सालमा एक्लैले जितेका क्षेत्र पाउँदैन र १०० सिट पाउँदैन भने तालमेल हुँदैन ।’
उनले यदि कांग्रेसको भागमा १०० सिट नपरे पार्टीभित्र नै विद्रोह हुनेसमेत चेतावनी दिए । गठबन्धनमा आवद्ध अन्य चार दलको विचार र सिद्धान्त कांग्रेससँग नमिल्ने उनको भनाई छ । ‘गठबन्धनमा रहेका चार दलको सिद्धान्त र विचार कांग्रेससँग मिल्दैन । कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्छ, त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह र विग्रह हुन्छ ।’
शेखरले केहि दिनदेखि विद्रोहको चेतावनी दिइरहँदा कांग्रेसभित्रका नेताहरुले भने यसबारेमा फरक–फरक कोणबाट प्रतिक्रिया जनाइहेका छन् । निर्वाचनको मुखमा शेखरको यस्तो अभिव्यक्ति आउनु पार्टी अनुशासन विपरीत भएको र कार्यकर्तामा नकारात्मक असर पर्ने बताउँछन् नेता कल्याण गुरुङ ।
उनी भन्छन्, ‘उहाँले पहिले गठबन्धनको निर्णय गर्ने बेलामा नै ‘नोट अफ डिसेन्ट’ लेख्नुपथ्र्यो । तर, अहिले आएर विद्रोह हुन सक्छ भन्नु गलत हो । अहिले पार्टीमा भागबन्डा खोज्ने र पार्टी नीतिविपरीत अभिव्यक्ति दिने समय होइन । एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।’




प्रतिक्रिया