संविधान दिवस : उपत्यकामा आज क–कसले गर्दैछन् विरोध प्रदर्शन ?

संविधान दिवस : उपत्यकामा आज क–कसले गर्दैछन् विरोध प्रदर्शन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संविधान दिवसको अवसरमा संविधान र गणतन्त्रको विरुद्धमा विभिन्न संघ संगठनहरुले आज विरोध कार्यक्रम आयोजना गरेका छन् । विभिन्न राजनीतिक दल तथा समूहले गणतन्त्रको बिरोध र राजतन्त्रको समर्थनमा नारा, जुलुस र धर्ना कार्यक्रम गर्ने भएका हुन् ।

त्यही क्रममा शिव सेना नेपालले मध्यान्ह १२ बजे सोझै माइतीघर मण्डलामा भेला भई गणतन्त्र र संविधानबिरोधी नारा लगाउने भनेको छ । शिव सेना नेपालले पनि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चामा सहभागी भएर संविधान र गणतन्त्रको बिरोध गर्न लागेको हो ।

उता, थरुहट थारुवान राष्ट्रिय मोर्चाले संविधान दिवसको उपलक्ष्यमा आयोजना गरिने बिरोध कार्यक्रममा अपूरो संविधान संशोधन गर भन्ने नारा लगाउने जनाएको छ । उसले पनि माइतीघर मण्डलामा दिउँसो २ बजेदेखि बिरोध गर्ने बताएको छ ।

त्यसैगरी उन्नत लोकतान्त्रिक पार्टीले संविधानको धारा ४८ मा उल्लेख गरिएको राष्ट्रिय स्वाधिनता रक्षाको लागि लड्ने प्रत्येक नागरिकको कर्तव्य भनिएकाले त्यहि धारा वाचन गरेर माइतीघर मण्डलामा दिउँसो १ बजे एमसीसीको बिरोध गर्ने उल्लेख गरेको छ ।

तराई मधेश राष्ट्रिय परिषद्ले असोज तीन, कालो दिन भन्दै अपूरो र अधुरो संविधानलाई संशोधन गरी पूरा गराउन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली गर्ने जनाएको छ । कार्यक्रम दिउँसो २ बजेबाट शुरु हुने छ ।

त्यस्तै बृहत नागरिक आन्दोलनले पनि अपुरो अधुरो संविधान संशोधन गर भन्दै मार्च गर्दैछ । उक्त मार्च पास २ बजे माइतीघरबाट संसद भवन नजिकै पुग्ने बृहत नागरिक आन्दोलनको नारायण वाग्ले समूहले बताएको छ ।

ॐकार धार्मिक संस्थाहरुको मोर्चा र राजसंस्था समर्थक संघ संस्थाहरुको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्यालीको आयोजना गर्दैछ । दिउँसो १ बजे निकालिने जुलुसमा गणतन्त्र र संविधानबिरोधी नारा लगाइनेछ ।

त्यस्तै शाही युवा शक्तिले पनि मध्यान्ह १२ बजेदेखि र्याली निकाल्ने भएको छ । रत्नपार्कबाट निकालिने जुलुस माइतीघरमा भेला हुने र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चामा सहभागी हुने कार्यक्रम छ । उक्त जुलुसमा पनि गणतन्त्र र संविधानबिरोधी नारा लगाइने जनाइएको छ ।