आधा पिलर बनाएर ठेकेदार फरार, ७० लाख रुपैयाँ झ्वाम !


ललितपुर – १५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन्। चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीसँग वाग्मती गाउँपालिकास्थित ठोस्ने खोलाको पुल निर्माणका लागि सम्झौता गरेका थिए। तिनै ठेकेदार अहिले काम अलपत्र पारेर सम्पर्कविहीन भएको जिल्ला प्राविधिक कार्यालय ललितपुरले जानकारी दिएको छ।

वाग्मती गाउँपालिकामा पर्ने (छपेली–भट्टेडाँडा–इकुडोल) सडकअन्तर्गत टुंगुन कोरिडोरमा पर्ने भट्टेडाँडा र इकुडोललाई जोड्ने पुल निर्माण १५ महिनामा सम्पन्न गर्ने सम्झौता थियो। तर काम अघि बढ्न नसकेको प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर रामेश्वर मरहठ्ठाले बताए। स्थानीयले भने दुवै पक्ष दोषी रहेको भन्दै आक्रोश पोखेका छन्। ठेकेदारले काममा ढिलासुस्ती गर्नु भनेको जिल्ला प्राविधिक कार्यालयको कमजोरी भएको कांग्रेसको तत्कालीन जिल्ला सचिव रविन शर्माको भनाइ छ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन भए पनि मुलुक छाडेर कतै नगएको र उसलाई समात्न सकिने उनले बताए। ‘पिलर सम्पन्न नगरी जिल्ला प्राविधिक कार्यालयले किन यति धेरै पैसा दियो ? ’, उनले प्रश्न गरे। खोलामा पुल नहुँदा बर्खामा बाटो बन्द हुने स्थानीयवासीको भनाइ छ। ‘यसै समस्यालाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयसम्म पुगेर पुलको योजना पारेको थिएँ। तर ठेकेदारका कारण जनताले सास्ती पाए। काम गर्छु भनेपछि पूरा गर्नुपर्छ’, शर्माले भने।

पुल निर्माण सम्पन्न गर्न पन्ध्रमहिने अवधि पाए पनि चार वर्ष बितिसकेको छ। तर ठेकेदारको अत्तोपत्तो छैन।

पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिको कार्यालय तथा स्विस नियोगको सहकार्यमा त्रिशूली कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताबमोजिम एक करोड ३९ लाख ९० हजार १८ रुपैयाँमा ठोस्ने खोलामा पक्की पुल बन्ने भनिएको थियो।

त्रिशूली कन्स्ट्रक्सनले पुल निर्माणका लागि २०७२ साल असार २९ गते पहिलो किस्ताबापत ४७ लाख नौ हजार तीन सय ९१ रुपैयाँ भुक्तानी लिइसकेको छ। दोस्रो किस्तामा २३ लाख ३२ हजार दुई सय ४६ रुपैयाँ नेपाल बैंक ललितपुर शाखाबाट लिएको देखिएको छ।

निर्माण सम्पन्न गर्न पन्ध्रमहिने अवधि पाए पनि चार वर्ष बितिसकेको छ। तर पुल निर्माणको जिम्मा लिएका ठेकेदार श्यामबहादुर तामाङ ७० लाख ४१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन छन्। काम लथालिंग छाडेर गए पनि पुनः टेन्डर हाल्ने प्रक्रिया झन्झटिलो भएकाले सकेसम्म उसैलाई फकाएर काम गर्न लगाउने प्रयास गरिने जिल्ला प्राविधिक कार्यालयका लेखा प्रमुख दलबहादुर खड्काले बताए।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख मरहठ्ठाकी आमाको मृत्यु भएकाले उनी अहिले बिदामा छन्। तर केही समयअघि उनले ती ठेकेदारलाई सूचना प्रकाशित गरी सम्पर्कमा आउन आग्रह गर्ने तथा नआएको खण्डमा अरू नै प्रक्रिया अगाडि बढाउने बताएका थिए।

पछिल्लो समय सार्वजनिक सरोकारका योजना जिम्मा लिएर कामै नगरी ठेकेदार सम्पर्कबाहिर बस्ने क्रम बढ्दै गएको छ। ठेकेदारको लपरबाहीका कारण करोडौँ रुपैयाँका योजना नबन्दा जनताले सास्ती बेहोर्नुपरेको छ। विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार स्क्वायरको राधाकृष्ण मन्दिरको जिम्मा लिएका ठेकेदार पनि सम्पर्कविहीन छन्। आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement