झुलाघाट – कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ। भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा पर्न थालेको छ। ‘संक्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौं,’ उनले भने।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ। संक्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो।
भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ।
‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौं,’ उनले भने। चैत सुरू भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा संक्रमण पुष्टि भइसकेको छ।
सीमानाकामा परीक्षण गर्दा दैनिक रुपमा कोरोना संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ।
नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।
जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।




प्रतिक्रिया