काठमाण्डु – पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ ।
पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ ।
सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन् ।
आज १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमूना परीक्षण गर्दा चार हजार ७६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ ।
एक लाख ६ हजार ४७० सङ्क्रमित आइसोलेनसमा छन् । आज छ हजार ४९१ जना सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए ।
सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नविन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ ।
त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ ।
सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी ए ।
आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् । त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ ।




प्रतिक्रिया