कोरोना बीमामा साढे २ अर्ब दावी भुक्तानी

कोरोना बीमामा साढे २ अर्ब दावी भुक्तानी


काठमाण्डु – कोरोना बीमामा हालसम्म २ अर्ब ४६ करोड २७ लाख ७५ हजार भन्दा बढी भुक्तानी भएको छ । पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमा बापत दावी भुक्तानी लिएको बीमा समितिले जनाएको छ ।

त्यस्तै, १८३ ओटा आवदेन भने दावीका लागि योग्य नभएको बीमा समितिको पुस मसान्तसम्मको तथ्यांकले देखाएको छ । केही समय पहिले सम्म कोरोना बीमाको दावी भुक्तानी ढिला गरेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

सबै निर्जीवन बीमा कम्पनीहरुले पुल मार्फत यो कारोबार गर्दै आएको हुनाले हाल नेपाल बीमक संघ र शिखर इन्स्योरेन्सले यसको दावीको कार्य गर्दै आएका छन । त्यसमा हालसम्म ५१ हजार ७१७ ओटा आवेदनको पुरा कागजपत्र आएको छ ।

यस्तै, संघले १४ हजार १६५ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणको लागि स्वास्थ्य मन्त्रालयको इडीसीडीमा पठाएको छ । त्यसमा ६ हजार १२५ ओटा प्रमाणिकरण भइसकेको छ भने ८ हजार ४० ओटा पेन्डिङमा रहेको छ ।

यस्तै, थप ७४७ आवेदन मन्त्रालयमा पठाउनका लागि तयार पारिएको छ । यस्तै, कागजपत्र पुरा नभएपछि २ हजार ७२१ आवेदन बीमा कम्पनीहरुलाई नै फिर्ता पठाइएको छ । यसका अलावा १० हजार ९७४ आवेदन बीमक संघको भेरिफीकेशन प्रक्रियामा रहेका छन ।