काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बाँकेमा दुई जना र चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बाँके अस्पतालमा दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए ।
यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
त्यस्तै चितवनमा होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।
क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ ।
जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया