कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन र विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको छ ।

कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध छन् । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो ।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।