कोरोना संक्रमणबाट कैलाली र कर्णालीमा ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट कैलाली र कर्णालीमा ११ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणबाट सेती प्रादेशिक अस्पताल कैलाली र कर्णाली प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै, बझाङका २६ वर्षीय पुरुषको सोमबार राति साढे १० बजे मृत्यु भएको हो । उनको यही वैशाख १४ गते एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यस्तै कर्णालीमा मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए ।

उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले बताए ।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।