काठमाडौं – रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालले स्पष्ट पारेको छ । रुपन्देहीमा रहेको क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा भ्रम पैदा गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।
जिल्लाको मदाने गाउँपालिका ६ का ४१ वर्षीय एक जना शिक्षक स्वास्थ्यमा समस्या देखा परेपछि अस्पताल भर्ना भएका थिए । शंका लागेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।
‘केही सामाजिक सञ्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सृजना भएकाले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा बुवा, दाजुभाईहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस असपतालमा आईसीयु कक्षमा भेन्टीलेटरमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँदछौं’, अस्पतालले भनेको छ ।
प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले केही मिडियालाई संक्रमितको मृत्यु भएको बताएका थिए । मन्त्री बरालले संक्रमितको मृत्यु भएको पुष्टी गर्दै गलत सूचना मिडियाहरुलाई दिएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया