कोरोनाले आँगनमै हृदयविदारक हालत : न उपचार सजिलो, न अन्त्येष्टि !

कोरोनाले आँगनमै हृदयविदारक हालत : न उपचार सजिलो, न अन्त्येष्टि !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणको महामारीले संसार हल्लाएको १ वर्षभन्दा बढी भइसक्यो । तर यसले फेरि भयानक रूप धारणा गर्र्दैछ ।

नेपालको आँगनमै रहेको ठूलो देश भारतमा कोरोनाले हृदयविदारक हालत निम्त्याएको छ । बुधबार मात्रै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा उच्चपदस्थ व्यक्तिलाई कोरोनाले खासै असर परेको छैन । उच्चपदस्थ व्यक्तिले चिकित्सकको परामर्श र आवश्यक उपचार पाई नै रहेका छन् । खराब हालत भएको छ त सर्वसाधारण जनताको ।

विशाल जनसंख्या रहेको भारत देशमा दैनिक १ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि हुँदा उपचार सुविधा सहज र सुलभ छैन । अस्पताल पुगेका बिरामी भर्ना नपाएर मरिरहेका छन् । भारत यतिबेला न उपचार सहज छ, न मृत्युपछि अन्त्येष्टि नै ।

झारखण्ड राज्यको हजारीबागबाट उपचारका लागि राजधानी राँची पुगेका ६० वर्षीय पवन गुप्ताको अस्पतालमा भर्ना नै नपाई मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफन्तहरूले अस्पतालमा हारगुहार गर्दा समेत भर्ना नपाएपछि गुप्ताको मृत्यु भयो ।

गुप्ताको मृत्यु हुँदा प्रदेशका स्वास्थ्यमन्त्री बन्ना गुप्ता अस्पतालको निरीक्षणका लागि आएका थिए । बिरामीकी छोरीले मन्त्री गुप्तासामु हारगुहार गर्दा समेत उपचारका लागि बिरामीलाई अस्पताल भर्ना गरिएन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि झारखण्ड प्रदेशमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था समेत आएको छ । झारखण्डको हरमुस्थित मसानघाटमा १३ कोरोना संक्रमितको शव ल्याइएकोमा त्यहाँ समयमै पालो नआएपछि जिल्ला प्रशासनको निर्देशनमा शवहरुलाई घाघरा मसानघाटमा पठाइएको थियो ।

‘म ४० घण्टादेखि बुवाको दाहसंस्कारका लागि प्रतीक्षामा छु, कतैबाट पनि सहयोग पाइएको छैन । शव ल्याएर मसानघाटमा पुगेका एम्बुलेन्स चालक पनि हैरान छन्,’ कोरोना संक्रमित मृतकका छोरा रमेश तिर्कीले भनेका छन् ।

कोरोना महामारी धेरै फैलिएपछि महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले सम्बोधन गर्दै कडा प्रतिबन्धको घोषणा गरेका छन् । महाराष्ट्रमा अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन । अन्य प्रदेशमा समेत प्रतिबन्धका घोषणा भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सीबीएसईको परीषा स्थगित गरेका छन् । मई ४ तारिखबाट हुने गरी निर्धारित परीक्षा कोेरोना झन् फैलिने खतरासँगै स्थगित गरिएको छ । १० कक्षाका विद्यार्थीको मूल्यांकन आन्तरिक परीक्षाबाट हुनेछ भने १२ कक्षाको परीक्षा पछि गर्ने सरकारको तयारी छ । भारतमा कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भइरहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा १ लाख ८४ हजार ३७२ नयाँ संक्रमित थपिएका छन् । थप मृतकको संख्या १ हजार २७ रहेको छ । भारतमा सक्रिय संक्रमित १३ लाख ६५ हजार ७०४ रहेका छन् ।

कोरोना बढ्दै गएपछि भारतमा रोजगारीका विभिन्न विभिन्न शहरमा गएका व्यक्तिहरू गाउँघर फर्किन थालेका छन् । जसमध्ये नेपाली समेत रहेका छन् । नेपालमा नयाँ वर्ष र कोरोनाको कहरसँगै नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

भारतबाट फर्किएका कतिपय नेपालीमा समेत कोरोना संक्रमण पुष्टि भइरहेको छ । आँगनको देश भारतमा कोरोना महामारी तीब्र फैलिएका बेला खुला सीमाना भएको नेपाल अछुतो रहँदैन । नेपालमा पर्याप्त सावधानी समेत अपनाउन नसकिएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा बुधबार देशबासीलाई सम्बोधन गर्दै लकडाउन गर्ने सोचमा सरकार नरहेको स्पष्ट पारेका छन् । तर कोरोना अनियन्त्रित भएमा सरकारले जुनसुकै विकल्पमा समेत जानुपर्ने हुनसक्छ । नेपालमा हाल विद्यालय बन्द गर्ने प्रस्ताव चर्चामा छ । तर तत्कालै विद्यालय बन्द गरिहाल्ने निर्णय सरकारले लिएन । कोरोना संक्रमण दिनदिनै बढ्दै गइरहेको र बालबालिका बढी प्रभावित रहेका सन्दर्भमा विद्यालय बन्द गर्न सरकारमाथि दबाब पर्न सक्ने जानकारहरू बताउँछन् ।