काठमाडौं – विश्वभरी नै महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको उपचार गर्न सरकारले २३५ वटा आईसीयू बेड बनाउने तयारी गरेको छ ।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले काठमाडौं उपत्यका र उपत्यका बाहिर २३५ वटा आईसूयी बेड बनाउने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर, पाटन, सेनाको छाउनी र भद्रकाली तथा कीर्तिपुरको आयुर्वेद अस्पतालमा २०–२० वटाका दरले गरी १ सय २० आईसीयू बेड निर्माण गरिने बताए ।
त्यस्तै वागमतीबाहेक ६ प्रदेशका १ सय १५ वटा आईसीयू बेड तयारी अवस्थामा राख्ने सरकारको तयारी रहेको उनले बताए । त्यस्तै आइसोलेसन वार्ड पनि कीर्तिपुरमा २ सय जनालाई, खरिपाटीमा २ सय २० जनालाई, नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको अस्पतालहरूमा सय वटा र इचङ्गुनारायणमा सरकारले बनाएको भवनहरूमा २ सय ५० वटा गरी कुल १ हजार वटा बेड तयार गर्ने निर्णय गरिएको बताए ।
उनले पीपीई र डाइगोनेस्टिक किटहरू पनि तत्काल खरिद गरी सबै प्रदेशमा पठाउने तयारी भइरहेको उनले बताए । स्वास्थ्य मन्त्रालयले पीपीई सेट २० हजार, डाइगोनेस्टिक किट १० हजार र थर्मल गन ३ हजार थान खरिद गरी प्रदेश सरकारहरूमा समेत पठाउने तयारी गरेको छ ।
त्यस्तै भारतसँग जोडिएका १ सय २८ स्थानीय तह र त्यहाँ आवागमन हुने ठाउँहरूमा ज्वरो नाप्ने थर्मल गन पठाउने तयारी भइरहेको उनले बताए ।
बैठकले कोरोनाको चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ७५ प्रतिशत भत्ता दिने, २० हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट), १० हजार डाइग्नोस्टिक किट र एक हजार थान थर्मल गन खरिद गर्ने निर्णय भएको छ । यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खरिद गरिनेछ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै आन्तरिक उडान भर्ने विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुको पनि स्क्यान गर्ने निर्णय भएको छ ।
भारतसँगको सीमा नाकामा कडाई गर्दै यसलाई सीमित संख्यामा झार्न परराष्ट्र मन्त्रालयले भारतसँग समन्वय गर्ने निर्णय भएको छ ।
समन्वय समितिको बैठकले कोरोनालाई पनि कडा रोकेको सूचीमा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै कोरोना संक्रमणका कारण कुनै व्यक्तिको मृत्यु भयो र उनी सञ्चय कोषका बचतकर्ता रहेछन् भने परिवारले १० लाख रुपैयाँ सहयोग पाउनेछन् ।




प्रतिक्रिया