काठमाण्डु – नेपालका १८ प्रतिशत नागरिकले कोरोना भाइरस संक्रमणविरुद्धको पहिलो मात्रा खोप लगाएका छन । हालसम्म ५७ लाख ५२ हजार ८ सय ५३ जनाले पूर्ण खोप प्राप्त गरेका छन् भने ६२ लाख ६२ हजार ७ सय ८० जनाले पहिलो मात्रा खोप प्राप्त गरेका छन् ।
अहिले पनि भेरोसेल खोप अभियान देशभर चलिरहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । खोप अभियान चलेसंगै कोरोना संक्रमण पनि घट्दै जानथालेको छ । काठमाण्डु उपत्यकाका अस्पतालमा आईसीयू तथा भेन्टिलेटरमा बिरामीको चाप घट्न थालेको छ ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले आईसीयू र भेन्टिलेटरका बेड खाली भएका छन् । करिब ४ हप्तायता कोभिडका बिरामीको संख्यामा कमि आएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए ।
त्रिवि शिक्षण अस्पतालका आईसीयू पनि खाली भएका छन् । यस्तै ७३ शय्या एचडीयू र २८ आईसीयू रहेको पाटन अस्पतालमा एचडीयूमा ३३ जना र आईसीयूमा १० जनाले उपचार गराइरहेका छन् ।
बालबालिकालाई पनि पुसबाट खोप दिइने
नेपालमा १८ बर्ष मुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । खोप खरिदका लागि खोप उत्पादकहरुसंग छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । सम्भवतः आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने सरकारको लक्ष्य छ ।
बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, ‘गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउने प्रक्रिया टुंगिसकेको छ । फाइजरको ६० लाख मात्रा खोप लगाउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । आगामी पुसबाट खोप लगाउन सुरु गरिन्छ ।’
हालसम्म नेपालले १ करोड ७७ लाख मात्रा खोप नेपालले प्राप्त गरेको बताए । अमेरिकी फर्मा कम्पनी फाइजरले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको बताइएको छ
स्वास्थ्य मन्त्रालय भन्छः जोखिम कायमै छ
कोरोना संक्रमण दिनहुँ घटेपनि यसको जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नभएको बताएका छन् । कोरोना विरुद्धको खोपलगायकाहरुले पनि मापदण्ड पालना गर्नुपर्ने उनको भनाई छ ।
डा पौडेलले भने, ‘कोभिड १९ ले नयाँ–नयाँ रुप परिवर्तन गर्ने, भेरियन्ट बनाउने जोखिम कायमै छ । हालसम्म नेपालमा अल्फा र डेल्टा भेरियन्ट देखिएपनि नयाँ भेरियन्ट देखिने जोखिम कायमै छ । त्यसैले रोकथाम र नियन्त्रणको प्रभावकारी एकमात्र उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हो ।’
उनले स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गरेका छन् । डा पौडेलले भने, ‘म फेरी अनुरोध गर्न चाहन्छु व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम गरौँ । भिडभाड गर्ने गतिविधि नगरौँ । बिशेषगरी चाडपर्व नजिकिएका छन् हामीले मापदण्डलाई नभुलौँ । हामीले मापदण्डलाई भूल्यौँ भने महामारीले अर्को रुप लिएर आउने जोखिम छ । अवको महामारी कसरी अगाडी जान्छ भन्ने कुरा हामी सबैको हातमा छ । सकेसम्म भिडभाडमा नजाउँ, भौतिक दुरी कायम गरौँ हात नमिलाउँ, स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौँ र आफु संगै अरुलाई पनि बचाँउ ।’




प्रतिक्रिया