कोरोना संक्रमण नियन्त्रण प्रभावकारी बनाउन सरकारको निर्देशन


काठमाण्डु – सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट टे«सिङको कार्यलाई पनि बढाउन भनेको छ । उहाँले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिए ।

मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दैै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न÷ नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेका छन् ।

कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । ‘भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ’, महाशाखाका प्रमुख कार्कीले भने, ‘केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।’

धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट एक लाख ३७ हजार ६२३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको सङ्ख्या कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै पाँच प्रतिशत हो । सङ्क्रमितमध्ये १३ हजार ८६५ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । होमआइसोलेशनमा हाल ९६ जना सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउँछन् । उनले भने, ‘जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।’

लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पुस महिनासम्म प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित ५६ जनाको मृत्यु भएको थियो । त्यसयता प्रदेशमा यो रोगका कारणले हुने मृत्यु दर शून्य छ ।

होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रदेशिक अस्पताल धनगढीलगायतका क्षेत्रमा स्थापना गरिएको कोरोना अस्पतालका श्ययाहरु खाली छन् ।

सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप ९कोभी शिल्ड० पहिलो र दोस्रो चरणमा लक्षित समूहलाई दिइसकिएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिइएको छ ।

खोप लगाएकालाई दोस्रो मात्रको खोप आगामी वैशाख ७ गतेबाट दिने तयारी भइरहेको छ । ‘पहिलो खोप लगाइसकेकालाई खोपको दोस्रो मात्रा लगाउन व्यवस्थापन भइरहेको छ’, स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘नयाँ खोप आएपछि खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement