वीरमा मृत्यु भएकामा कोरोना नेगेटिभ, घाँसकाट्न र गाईवस्तु चराउन मिल्छः स्वास्थ्य मन्त्रालय

वीरमा मृत्यु भएकामा कोरोना नेगेटिभ, घाँसकाट्न र गाईवस्तु चराउन मिल्छः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुवैको कोरोना नेगेटिभ आएको बताए ।

‘दुवैजनाको सोमबार नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाइएको थियो,’ उनले भने, ‘दुवैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।’

आइतबार अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत महिलाको सोमबार बिहान मृत्यु भएको थियो । उनलाई मधुमेह, उच्चरक्तचाप र ज्वरोको समस्या देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, सोमबारै ज्वरोलगायत समस्या देखिएर बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका पुरुषको उपचारकै क्रममा दिउँसो मृत्यु भएको थियो । ती पुरुष भारतीय नागरिक हुन् । उनी भारतबाट आएको करिब एक सातामात्र भएको थियो ।

त्यस्तै सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको त्रास गाउँगाउँसम्म नरहेको प्रष्ट पारेको छ ।

मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउने कि नचराउने भन्ने अन्यौलता रहेको समाचारप्रति मन्त्रालयको ध्यनाकर्षण भएको बताएका हुन् ।

‘अहिले गाउँबाट थुप्रै के समाचार आइराखेको छ भने खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउन जाने कि नजाने ?’, डा. कार्कीले भने, ‘व्यक्तिगत दूरी कायम राखेर आमनेसामने नबसिकन जुनसुकै काम गर्नुहुन्छ ।’

उनले परिवारका सदस्य कसैलाई ज्वरो आए, विदेशबाट आएको व्यक्तिमा कोरोनाको लक्षण देखिए उनीहरुले मास्क लगाए हुने तर कामै गर्नु नहुने भन्ने नभएको प्रष्ट पारे।

‘खेतीपाती गर्न मिल्छ, गाईवस्तु चराउन मिल्छ । घाँसकाट्न मिल्छ’, डा. कार्कीले भने, ‘यो चाहिँ असाध्यै ठूलो भय र त्रास भइराखेको छ । यो नलिन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्दै गर्दा क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएको प्रतिसमेत ध्यानाकर्षण भएको बताएको छ । घरबेटीले चेतावनी दिएको भए तत्काल नजिकको प्रशासनमा गएर उजुरी गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

‘कोरोना क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएकोसमेत गुनासो आएको छ’, डा. कार्कीले भने, ‘यदि त्यस्तो हो भने नजिकको प्रशासनमा गएर उजुरी गर्नुहोस् ।’

सरकारले तीन रणनीतिमध्ये लकडाउन सबैभन्दा प्रभावकारी भएको दाबीसमेत गरेको छ । सरकारले लकडाउनलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गरेको छ । लकडाउनलाई कडा बनाएर जाने विषयमा कोरोना संक्रमण नियन्त्रण तथा तथा रोकथाम उच्चस्तयरीय समितिले निर्णयसमेत लिएको प्रवक्ता देवकोटाले बताएका हुन् ।