काठमाण्डु – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४० लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै नेपाल आइसक्ने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ४० लाख मात्रा खोप ल्याउन लागिएको हो ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले आइतबार खोप आपूर्तिका लागि हुने तीन वटा फ्लाइटको तालिका सार्वजनिक गरेका छन् । जसअनुसार खोप लिनका लागि नेपाल वायु सेवा निगमको जहाज असार २४ गते गएर २५ गते फर्किनेछ । यस्तै काठमाण्डुबाट ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खोप लिन विमान साउन ७ गते गएर ८ गते फर्किनेछ ।
सरकार र चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदको सम्झौता अनुसार उक्त खोप ल्याउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे १८ असारमा सिनोफार्मसँग सम्झौता भएका बताएको थियो । तर ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ भएको भन्दै सरकारले थप विवरण खुलाएको छैन ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार चार वर्षसम्म सम्झौता सार्वजनिक नगर्ने सर्तमा खोप खरिद गरेको हो । एक मात्राको १४ डलरमा खरिद गरेको दाबी गरिएको छ । अन्य मुलुकबाट खोप आउन नसक्ने भएपछि चिनियाँ कम्पनीको प्रस्तावअनुसार सरकार गोप्य सम्झौता गर्न सहमत भएको हो ।
जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको थियो । नेपालले खोप खरिदको प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य र खरिद गरिएको खोपको संख्यालगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने अडान राखेको थियो । यो सर्तकै कारण स्वास्थ्य सेवा विभाग र मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउन सकेका थिएनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने बताएका छन् । ‘अब भ्याक्सिनको समस्या छैन, पर्सिदेखि चाहिनेजति भ्याक्सिन आउँछ,’ बैठकमा ओलीले भने, ‘भारतबाट दोस्रो डोज नआउँदा समस्या भयो । केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिइङ गरिरहेका छन् ।’
मन्त्रालयले चीनको भेरोसेल खोप खरिदको सम्झौता गरे पनि गुपचुप राखेको थियो । प्रधानमन्त्रीले तीन दिनभित्र खोप आउने बैठकमा जानकारी गराएपछि मन्त्रालयले हतारिँदै शुक्रबार साँझ विज्ञप्ति जारी गरेर चीनमा खरिद गरेको खोप ल्याउन लागेको सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्रीले गत असार २ मा कोभिड–१९ निर्देशक समितिको बैठकमा चीनबाट ४० लाख खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने जानकारी गराएका थिए तर वायुसेवा निगमले तीनपटकमा ३० लाख खोप ल्याउन जहाज पठाउन लागेको बताएको छ ।
यसअघि सरकारले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी पठाए पनि १० लाख मात्रा अझै आएको छैन । पहिलो मात्रा लगाएका १८ लाख २८ हजार ४ सय ८४ जना दोस्रो मात्राको पर्खाइमा छन् । त्यस्तै अन्य मुलुकसँग पनि खोप ल्याउने चर्चा मात्र भएको छ, परिणाम निस्केको छैन ।




प्रतिक्रिया