फाइजर खोपको पहिलो डोजमै सकारात्मक नतिजा, बेलायतमा भने दुई जनामा देखियो एलर्जी

फाइजर खोपको पहिलो डोजमै सकारात्मक नतिजा, बेलायतमा भने दुई जनामा देखियो एलर्जी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी फुड तथा ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले फाइजर भ्याक्सिनको एक डोजले कोरोना भाइरसविरुद्ध राम्रो प्रतिक्रिया जनाएको जानकारी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एफडिएले फाइजरको पहिलो डोजले नै मानव शरीरमा लगाएको दश दिनभित्रै बलियो सुरक्षा प्रदान गरेको जानकारी दिएको हो ।

नोभेम्बरमा फाइजरले तीन हप्ताको अन्तरालमा दिइने दुई डोजले भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो । खोपको सुरुवाती परीक्षणमा गरिएको विश्लेषणअनुसार पहिलो डोजले नै राम्रो नतिजा देखाएको छ ।

यसबाहेक ट्रायल परीक्षणको क्रममा स्वयंसेवकको उमेर, फरक भूगोल र स्वास्थ्य अवस्थामा राम्रो प्रभाव छाडेको छ । परीक्षणको समयमा केहीमा शरीर दुखाइ र सामान्य ज्वरो देखिए पनि खासै साइड इफेक्ट देखिएको पाइएन ।

बिहीबार एफडिएको भ्याक्सिन सल्लाहकारको प्यानलले फाइजर खोपको प्रमाणीकरण सिफारिस गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ ।

तर, बेलायतमा भने फाइजरले उत्पादन गरेको कोभिडविरुद्धको खोप लगाएका दुई जनामा भने एलर्जी भएको छ ।
दुई जनामा खोपको साइड इफेक्ट देखिन थालेपछि वैज्ञानिकहरू चिन्तामा परेका छन् । बेलायतको मेडिकल डिपार्टमेन्टले चेतावनी जारी गर्दै औषधि खाँदा रियाक्सन हुने व्यक्तिहरूलाई यो खोप नदिन भनेको छ ।

बेलायतमा एलर्जीको दुईवटा केस देखिएपछि अमेरिका र क्यानडाले सतर्कता अपनाउन भनेका छन् । फाइजर बायोएनटेकले भने खोपको परीक्षणमा औषधिबाट एलर्जी हुने कोहीलाई पनि समावेश नगरिएको जानकारी दिएको छ ।

विज्ञहरूका अनुसार, खोपले सबैलाई एलर्जी हुन्छ भन्ने कुरा सत्य हैन । बेलायतमा फरक फरक चरणमा खोप दिइनेछ । आरम्भमा स्वास्थ्यकर्मी र वृद्धहरूलाई खोप दिइएको छ । त्यसपछि गम्भीर रोग भएकाहरूलाई खोप दिइनेछ ।

फाइजर बायोनटेकले गत जुलाईदेखि अमेरिका, अर्जेन्टिना र ब्राजिलमा करिब ४४ हजार सहभागीमा तेस्रो चरणको ट्रायल परीक्षण गरेको थियो । जसमध्ये आधामा वास्तविक खोप र आधा सहभागीमा प्लेसबोसट दिइएको थियो । खोप दिइएका व्यक्तिमा पहिलो १० दिनमा स्वास्थ्य अवस्थाबारे ब्रिफिङ रिपोर्ट गरिएको थियो ।

खोपको प्रभाव यसको प्रयोग गरेका व्यक्तिमा मात्र नभई उच्च भिडभाड रहेका अस्पतालमा पनि फाइदा पुग्ने बताइएको छ । अस्पतालहरूमा स्वास्थ्यकर्मी र कर्मचारीमा भ्याक्सिन दिइने र परीक्षणका क्रममा पनि हजारौँ व्यक्तिमा खोप दिइएकाले संक्रमणको जोखिम घट्दै जाने आशा गरिएको छ ।

तर, पहिलो डोजले प्रारम्भिक चरणमा संरक्षण दिए पनि लामो समयका लागि भने प्रभावकारी हुने नहुने विषय यकिन नभएको विज्ञहरूको भनाइ छ । पहिलो डोजले कति समयसम्म भाइरसलाई अवरोध गरेर राख्न सक्छ वा शरीरमा एन्टिबडी निर्माण गर्छ भन्ने विषय तथ्य छैन ।