काठमाण्डु – सरकारले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि कार्ययोजना बनाएको छ ।
कार्ययोजनामा अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आइसियु, शैया र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ गतेभित्र ती अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्ने उल्लेख गरिएको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीले दिएको निर्देशनको कार्यन्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो ।
यस्तै, अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पताल बीच सम्बन्ध स्थापित गर्ने, आवश्यकता अनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने र अक्सिजन उद्योगहरुको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने लगायतमा विषयहरु समेटिएका छन् ।
सबै कोभिड अस्पतालहरुमा हाई फ्लो अक्सिजन बेडको व्यवस्था गर्ने, कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने विषय पनि कार्ययोजनामा उल्लेख छ ।




प्रतिक्रिया