काठमाण्डु – निषेधाज्ञा हटेसँगै कोरोनाको संक्रमणदर पनि बढ्न थालेको छ । असार २० गतेबाट सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।
असार २० गते नेपालमा एक हजार ६ सय तीनजना संक्रमित थपिएका थिए । यस्तै आइतबार नै दुई हजार पाँच सय ४२ जना कोरोना संक्रमणमुक्त भएका थिए भने २७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
यस्तै सोमबार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो । ७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षणमा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको थियो ।
साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १२ हजार ५सय ८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही दिन एक हजार ५ सय ६५ जना संक्रमित निको भई डिस्चार्ज भएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबार ११ हजार ९ सय ८९ जनामा परीक्षण गर्दा २ हजार ९ सय ७९ जनामा संक्रमण पाइएको थियो ।
चार दिन यताको तथ्याङ्क हेर्दा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको देखिन्छ । कोरोना नियन्त्रणका लागि जारी गरिएका निषेधाज्ञा र सवारीसाधनमा जोरबिजोर हटाएसँगै कोरोना संक्रमण पनि बढ्न थालेपछि जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालय भन्छ– संक्रमण बढ्यो, सचेत बनौं
निषेधाज्ञा हटाएसँगै कोरोना संक्रमणदर पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दैनिक रुपमा संक्रमणदर बढ्न थालेपछि चिन्ता व्यक्त गरेको छ । सर्वसाधरणदेखि नियामक निकायले तदारुकता नदेखाउँदा कोरोना संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन् ।
उनी भन्छन्, ‘यो महामारी हो यसलाई रोक्न सरकारको एक्लो प्रयासले सम्भव छैन् । त्यसैले सबैले बुझ्नुपर्यो स्वास्थ्यका मापदण्ड पालना गनुपर्यो । सबैजनाको प्रयास नभइ यो नियन्त्रण गर्न सम्भव नै छैन् । हामीले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्यो । मास्क लगाउनुप¥यो हामीले वारम्वार भनिरहेका छौँ,’ उनले भने, ‘भौतिक दुरी कायम पर्यो अनावश्यक भिड गर्नुभएन । यसले यो गरेन त्यो गरेन भन्न सहज छ । तर, हामीले के गर्याैं भन्ने कुरा सबैले बुझ्यौँ भने जोखिम नबढ्ला ।’
तेस्रो लहरको प्रतिकार्यका लागि तयार
नेपालमा अहिले कोरोनाको दोस्रो लहर समाप्त नभएको डा. पौडेलले बताए । पछिल्लो दिनयता संक्रमण बढ्नु हामी आफैं जिम्मेवार रहेको उनले बताए ।
प्रवक्ता पौडेलले अब आउन सक्ने भनिएको तेस्रो लहरको तयारी पनि सुरु गरेको जानकारी दिए । बालबालिकाका लागि आईसीयू कक्ष बनाउने, अक्सिजन प्लान्ट जडान गर्ने र अक्सिजन पाइपलाइन पनि विस्तार गर्ने लगाएतका काम गर्न अस्पतालहरुलाई निर्देशन दिइसकेको बताए ।
‘हामी तेस्रो लहरको प्रतिकार्य तयारीमा छौं । यो लहरमा बालबालिका बढी प्रभावित हुनसक्ने आँकलन गरिएको छ । त्यसैले हामीले बालबालिका लागि आवश्यक पर्ने आइसीयु, एचडियु बनाउन अस्पतालहरुलाई भनिसकेका छौँ,’ उनले भने, ‘अर्थमन्त्रालयबाट पनि बजेट निकासा भइसकेको छ । कोरोना उपचारमा आवश्यक जनशक्ति बढाएर तालिम पनि दिइसकेका छौँ ।’
नागरिकलाई खोप नपु¥याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा र संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी आउन नसकेको विज्ञहरुको भनाइ छ ।




प्रतिक्रिया