कोरोना भाइरस ५० देशमा फैलियो


काठमाडौं – चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अर्थात कोभिड–१९ को संक्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

तर यो संक्रमणबाट प्रभावित विभिन्न देशका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि निको भएर घर फर्कनेमा चीनमा मात्रै ३६ हजार एक सय ३६ जना रहेका छन् । हालसम्म यो संक्रमणबाट मृत्यु हुनको संख्या २८३२ पुगेको छ । यसैगरी ७९,०६७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट ज्यान गुमाउनेमा चीनपछि इरान रहेको छ । संक्रमणबाट इरानमा २६ जनाको ज्यान गएको छ । जापान र इरानले सबै स्कुल बन्द गर्न निर्देशन दिइसकेका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न आग्रह गरेको छ ।

यसैगरी अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट आउने पर्यटकलाई लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको अन्तर्रा्ष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उप–सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो संक्रमित भेटिएका छन् । नाइजेरियामा कोरोना संक्रमित भेटिएको एएफपीले पुष्टि गरेको छ । यद्यपि उद्गम थलो मानिएको कोरोना भाइरसको संक्रमण सुरुे चीनमा घट्नु र चीनबाहिर बढ्नुलाई चिन्ताजनक मानिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको संक्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement