एजेन्सी – विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भएको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् ।कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु इटलीमा आठ हजार २१५, स्पेनमा चार हजार ८५८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८, फ्रान्समा एक हजार ६९६ र अमेरिकामा एक हजार ३०४ जनाको मृत्यु भएको छ ।
केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ । अमेरिकामा ८५ हजार ७४९, चीनमा ८१ हजार ३४०, इटलीमा ८० हजार ५८९, स्पेनमा ६४ हजार ५९, जर्मनीमा ४७ हजार २७८, इरानमा ३२ हजार ३३२ र फ्रान्समा २९ हजार १५५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सम्बन्धित देशले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
एशिया
चीन र इरानबाहेकका एशियाली मुलुकहरूमा सङ्क्रमणको बढी प्रभाव दक्षिण कोरिया र जापानमा रहेको छ । जापानमा एक हजार ३८७ जना सङ्क्रमित रहेकोमा ४७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा नौ हजार ३९१ व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ ।
जापान र दक्षिण कोरियामा फेब्रुअरीको अन्त्यदेखि तथा मार्चको सुरूसम्ममा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको भएपनि पछिल्ला केही हप्ता सङ्क्रमण र मृत्युदरमा उल्लेख्य नियन्त्रण देखिएको छ ।
दक्षिण एशियाली मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी एक हजार २५२ जना कोभिड–१९का कारण सङ्क्रमित भएका छन् भने नौ जनाको मृत्यु भएको छ । भारतमा ७९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ ।
श्रीलङ्कामा १०६ व्यक्तिमा सङ्क्रमण, अफगानिस्तानमा ९४व्यक्तिमा सङ्क्रमण चारको मृत्यु, मालदिभ्समा १४ जनामा सङ्क्रमण र नेपाल र भूटानमा तीन÷तीन जनामा सङ्क्रमण पुष्टिभएको छ । नेपालमा सङ्क्रमित तीन जनामध्ये एक जना निको भै घर फर्किसकेका छन् ।




प्रतिक्रिया