कोरोना भाइरस दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको अनुमान

कोरोना भाइरस दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वभरि विनास मच्चाएको कोरोना भाइरस धेरै वर्ष वा अझ दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको हुनसक्ने एक अध्ययनले देखाएको छ ।

डिसेम्बरमा चीनको वुहानबाट महामारीका रूपमा फैलिनुभन्दा धेरैअघि मानव समुदायमा यो भाइरस विस्तार भइसकेको हुनसक्ने निश्कर्ष अध्ययनको छ । अमेरिका, बेलायत र अष्ट्रेलियाका अनुसन्धाताले विगतमा देखापरेका यस्तै किसिमका भाइरस र त्यसबारे गरिएको अनुसन्धानका आधारमा यो निष्कर्षमा पुगेका हुन् ।

वैज्ञानिकहरूका अनुसार यस पटक कोरोना भाइरसमा बेग्लै चरित्र देखिएको छ । यो यसलाई बोकेर ल्याएका जनावरमा भेटिएको छैन । मानिसको एउटा घेरामा लगातार संक्रमण भएपछि विस्तारै भाइरसले अहिलेको भयानक चरित्र विकास गरेको हुनसक्ने उनीहरू अनुमान गर्छन् ।

अध्ययनमा क्यालिफोर्नियाको स्क्रिप्स रिसर्च इन्स्टिच्यूटका क्रिस्टिन एन्डर्सन, स्कटल्यान्डको युनिभर्सिटी अफ एडिनबराका एन्ड्रयु राम्बाउट, न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीका इयान लिप्किन, युनिभर्सिटी अफ सिड्नीका एडवार्ड होम्स र न्यूओर्लियन्सस्थित तुलाने युनिभर्सिटीका रोबर्ट ग्यारी सहभागी भएका थिए । अध्ययनको निष्कर्ष गत मार्च १७ मा वैज्ञानिक जर्नल ’नेचर मेडिसिन’ मा प्रकाशित भएको थियो ।

यसैगरी युएस नेसनल इन्स्टिच्यूट अफ हेल्थका निर्देशक डा. फ्रान्सिस कोलिन्स पनि यो भाइरस समस्याका रूपमा देखिनुभन्दा निकैअघि जनावरबाट मानिसमा सरेको हुनसक्ने अनुमान लगाउछन् । यद्यपि उनी यो अध्ययन टोलीमा सहभागी थिएनन् ।

दशकौंदेखि नयाँ–नयाँ प्रकृति विकास गर्दै अन्ततः यसले मानिसबाट मानिसमा सर्ने र ज्यानैसम्म लिनसक्ने स्वरूप ग्रहण गरेको हुनसक्छ,’ उनले आफ्नो संस्थाको वेबसाइटमा बिहीबार राखेको लेखमा भनेका छन् ।

गत डिसेम्बरमा चीनको वुहानका डाक्टरहरूले एकाएक ठूलो संख्याका मानिस रहस्यमयी निमोनियाबाट पीडित बन्न थालेको थाहा पाएका थिए । डाक्टरहरूले ती बिरामीलाई रुघा वा मर्की भएको हो कि भनेर परीक्षण गर्दा ’नेगेटिभ’ परिणाम देखिएको थियो । त्यसपछि यो समस्याले सबैलाई समस्यामा पार्न थालेको थियो ।

उक्त समयमा वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीको टिमले यो भाइरसको उत्पत्ति चीन र म्यानमारको सीमावर्ती क्षेत्रतर्फ पहाडी गुफामा बस्ने चमेराबाट भएको पत्ता लगाएको थियो । कोरोना भाइरसमा चमेराका ९६ प्रतिशत वंशाणुगत गुण फेला परेका छन् ।

तर,चमेरामा भेटिएको त्यो भाइरस मानिसमा संक्रमित भने हुँदैन । मानव कोषले त्यसलाई ग्रहण गर्न स्पाइक प्रोटिन भन्ने तत्व हुनुपर्छ, जुन चमेराको भाइरसमा पाइएको छैन । कोरोना भाइरसमा भेटिएको स्पाइक प्रोटिन मलायाको सालकमा पछि फेला पारिएको थियो ।

ग्वाजाउ र हङकङको अर्को छुट्टै टोलीले गरेको खोजअनुसार कोरोना भाइरसमा तिनै चमेरा र सालकमा पाइने भाइरसका गुण संयोजित रूपमा भेटिएको छ ।

चीन, फ्रान्स र अमेरिकाका अनुसन्धाताको छुट्टै अध्ययनअनुसार यो परिवर्तित जीनले नै सम्भवतः भाइरसमा फरक खाले स्पाइक प्रोटिनको संरचना बनाएको हुनसक्छ । त्यही संरचनाका कारण उक्त भाइरस मान्छेमा सरेको हुनसक्छ । एचआइभी र इबोलाजस्ता भाइरसमा यस्तै खाले संरचना पाइएको थियो ।