इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई लाग्यो कोरोना भाइरस


एजेन्सी – इरानमा उच्च सरकारी अधिकारीहरूमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन् ।

इरानमा कोरोनाबाट संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी हुन् । अरू कुनै पनि देशमा उच्च तहका यति धेरै सरकारी अधिकारीलाई उक्त भाइरसले छोएको छैन । इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई समेत कोरोनाको संक्रमण देखिएको थियो ।

इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोरोना भएको छ । तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ ।

इरानमा कोरोनाबाट अहिलेसम्म २६ जनाको ज्यान गएको छ भने २ सय ४५ जना संक्रमित भएका छन् । बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement