एजेन्सी – वासिङटन र प्योङयाङको बिग्रदो सम्बन्धकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई कोरोनाभाइरस जस्तो महामारीसँग जझ्नका लागि सहयोगको प्रस्ताव राखेका छन् ।
उत्तर कोरियाले शनिबार अमेरिकी दबाबकाबीच आफ्नो क्षेप्यास्त्र परीक्षण गरेको समयमा ट्रम्पले उत्तर कोरिया समक्ष यस्तो प्रस्ताव राखेका हुन् । यसै दबावमा आएर अमेरिकाले उत्तर कोरिया समक्ष यो प्रस्ताव राखेको मानिदै आएको छ ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार ट्रम्पले पठाएको पत्रमा दुई देशबीचको सम्बन्ध अगाडि बढाउने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, “अमेरिका उत्तर कोरियाका जनतालाई कोरोनाभाइरससँग जुझ्नका लागि सहयोगको प्रस्ताव गर्छ । महामारीको बिरुद्धमा अमेरिका उत्तर कोरियालाई सहयोग गर्न चाहन्छ ।” यो पत्रको बारेमा किम जोङ उनकी बहिनीले बताएको योनहापले जनाएको छ ।
ट्रम्पले आफ्नो पत्रमा दुवै देशबीच विकासशील सम्बन्धको विषयमा एक योजनाको रुपरेखा तयार पारेको किमकी बहिनीलाई उद्र्धृत गर्दै योनहापले जनाएको छ । साथै महामारीको खतराबाट उत्तर कोरियाली जनताको रक्षाका लागि किम जोङ उनको प्रयासको सराहना समेत गरिएको छ ।




प्रतिक्रिया